व्यवस्थित गर्न खोज्दा भ्रामक प्रचार !


 


पोखरा, पुस २४
पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पु¥याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै महत्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किनुपरेको वास्तविकतामा परिषद्ले यसलाई व्यवस्थित गर्ने पहल शुरु गरेको थियो ।

परिषद्ले गत पुस ९ गते ठूला सवारी साधनलाई पोखराका साँघुरा गन्तव्यमा नपठाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकामा प्रशासनले जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा सहयोग समन्वयका लागि पत्राचार गरेको थियो ।

उक्त प्रयासलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण यसले पोखराको पर्यटनमा असर पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

“हामीले कोही–कसैलाई निषेध गर्न खोजेका होइनौँ, पोखरा आउने जोकोही पर्यटकको सुरक्षा तथा सुविधालाई लक्षित गरी यो कदम अघि बढाइएको हो”, उहाँले भन्नुभयो, “सबै गन्तव्यमा ठूला सवारी साधन पुग्नै नसक्ने अवस्थासमेतलाई दृष्टिगत गरी यो प्रयास गरिएको हो ।”

विश्वका कुनै पनि पर्यटकीय शहरमा ठूला सवारी साधन पार्किङ गरी स्थानीय सवारी साधनको प्रयोगमार्फत अन्य गन्तव्यहरू घुम्ने प्रचलन रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य सोम थापाले बताउनुभयो ।

पर्यटकका लागि उनीहरूको सेवा तथा सुविधालाई लक्षित गरी व्यवस्थित गर्न खोजिनुलाई नकारात्मक रूपमा टिप्पणी गर्न नहुने उहाँले बताउनुभयो । ठूला सवारी साधनको प्रयोगका कारण यहाँ आएका धेरै पर्यटकले पोखराका सबै गन्तव्यमा पुग्न नसकेको र उनीहरूको बसाइसमेत छोटिने गरेको व्यवसायीको तर्क छ ।

पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष केदारनाथ शर्माले पोखरा र आसपासमा ३३ पर्यटकीय गन्तव्य रहे पनि अत्यन्त सीमित गन्तव्यमा पर्यटकलाई पु¥याएर फर्कने गरिएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला समयमा पोखरा आएका पर्यटकलाई यहाँको फेवाताल, डेभिडफल्स, विन्ध्यवासिनी मन्दिरजस्ता केही ठाउँमा मात्र पु¥याउने गरिएको छ ।

पोखराको पर्यटनलाई व्यवस्थित र सुरक्षित गराउन गरिएको प्रयासलाई नकारात्मक रूपमा प्रचार गर्दै कतिपय सञ्चारमाध्यमले ‘इन्डियन टुरिष्ट आर नट एलाउड इन पोखरा’ भन्नेसम्मका दुष्प्रचार गरिएको पश्चिमाञ्चल होटल सङ्घका सल्लाहकार एवं होटल व्यवसायी बच्चुराम तिवारीले बताउनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटीभिए०का अध्यक्ष बोबरजङ्ग गुरुङले पोखरा भित्रिने ठूला सवारी साधनलाई व्यवस्थापन गर्दै पर्यटकलाई यहाँका हरेक गन्तव्यमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरामा मात्रै वार्षिक झण्डै डेढ लाखदेखि दुई लाखसम्म भारतीय पर्यटक आउने गरेको जानकारी दिनुभयो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पोखराको पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्