यिनै बालक थिए शेरधन राई


 


ध्रुव सुवेदी
भोजपुर, कार्तिक १९
साढे तीन दशक अघि आफ्ना मामाले भलिबल खेल्नका लागि मिकासा बल भान्जा शेरधन राईलाई किनिदिदा गाउँघरमा कम्ता चर्चा थिएन् । मामाले किनिदिएको मिकासा बल बोकेर पाखामा खेल्न निस्कदा उनका साथीभाइले वरिपरी घेरिसकेका हुन्थे ।

गाउँघरमा अहिले पनि मोजाको बल खेल्ने समय छँदा यतिबेला पनि नामी मानिने त्यो मिकासा बल देख्दा र खेल्न पाउँदा उनका साथीभाई दंग हुन्थे । त्यही मिकासा बलको आकर्षणबाट भलिबल खेल सुरु गरेका शेरधन उमेरको २०–२२ बर्ष हुँदा जिल्लाको भलिबल खेलमा नामुद खेलाडीको रुपमा परिचित बनिसकेका थिए ।

आखिर उनको जीवनले पनि नयाँ मोड लियो । उनि राजीतिमा लागे, राजनीतिमा लागेको करिब साढे दुइ दशकपछि त्यो समयका चर्चित भलिबल खेलाडी शेरधन बिहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री बनेका छन् । साथै सरकारकाे प्रवक्ताकाे जिम्मेवारी पनि ।

२०२७ सालमा भोजपुरको विकट थिदिंखा–५ पसल भन्ज्याङ्गमा सामान्य परिवारमा जन्मिएका शेरधन राई २०७० मंसीर ४ मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट सभासदमा निर्वाचित भएका थिए । ०४४ बाट अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक जीवन शुरु गरेका राई एमालेको खम्बाका रुपमा परिचित छन् ।

बाल्यकालमा शेरधन

अखिलको प्रा.क. बाट शुरु भएको उनको राजनीतिक यात्रामा जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, पूर्वाञ्चल संयोजकको कुशल भूमिका निर्वाह गरेको अनुभव छ । २०४५ बाट एमाले पार्टीको संगठित सदस्यता लिएका राई यतिबेला एमालेको बैकल्पिक पोलिटब्युरो सदस्यको हैसियतमा छन् ।

०५४ मा माले एमाले विभाजित हुँदा राई एमालेमा उपसचिव थिए । अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा जाँदा राई एमालेमै रहे ।

त्यसपछि बिचरा अवस्थामा रहेको एमाले भोजपुरको नेतृत्व सम्हाल्न पुगेका राईले ०७० बैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीलाई कुशल नेतृत्व दिए । संविधानसभा विघटनसँगै एकल पहिचानको विषयलाई लिएर अशोक राईहरु बाहिरिन लाग्दा उनले त्यो कदमलाई रोक्न हरदम प्रयास गरे ।

कतिपसम्म भने त्यतिबेला २४ जिल्लामा एमालेका जनजाती जिल्ला पार्टी अध्यक्षहरुको नेतृत्व गरेर अशोक राईहरुसँग पटक—पटक संवाद बढाए । उनको त्यो पहलकदमीले एमाले ठुलो क्षतिबाट जोगिन पुग्यो ।

यद्यपी अशोक राई लगायतका केही जनजाती नेताहरुले संघीय समाजवादी पार्टी गठन गरे । उनले त्यसबेला खेलेको सन्तुलित भूमिकाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चा पाएको थियो भने उक्त भूमिकाले राष्ट्रिय राजनीतिमा ठुलो तरंग पैदा गरेको थियो ।

एकल जातीय पहिचानको मुद्धा छ्यापछ्याप्ती भएको त्यो बेला शेरधनले आफ्नो राजनीति जीवन नै दाउमा राखेर बहुबहिचानको मुद्धा ओकालत गरेका थिए । अन्तत बहुपहिचानवाला मुद्धा बोकेर चुनाबमा गएका पुराना शक्ति कांग्रेस एमाले नै ठुलो दलको हैसियतमा स्थापित भए ।

संविधान सभा सदस्यकाे प्रमाणापत्र लिँदै, शेरधन रार्इ

पार्टीलाई बचाउन ०५४ होस या ०६९ मा उनले खेलेको महत्वपूर्ण भूमिका पार्टीको इतिहासमा लेखिने उनको विश्वास छ । लामो समयदेखी पार्टी अध्यक्ष केपी ओली निकट रहँदै आएका राई पछिल्लो समय तत्कालिन पार्टी उपाध्यक्ष एंव बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास पात्र थिए ।

भण्डारी राष्ट्रपति बनेसँगै मन्त्री बन्ने सम्भावना कम रहेको आकलन गरिए पनि यसअघि चर्चामै रहेको सन्चार मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । आफूलाई एमालेको सिपाही भन्न रुचाउने राई जब पार्टीमा विभाजन र संकट आइपर्छ तब सतिसाल झै उभिने गरेका छन् ।

उनले जिल्ला तथा केन्द्रिय पार्टी नेतृत्वमा गलत विचार र प्रवृत्तिका विरुद्ध जेहाद छेड्दै आएका छन् । जिल्लामा रहदा उनले साझा नेताको छवि बनाएका थिए ।

यतिबेला जिल्लाको राजनीति मियो बिनाको दाँइ बनिरहेका बेला उनको त्यो नेतृत्व र साझा छविको जिल्लाबासीले स्मरण गरिरहेका छन् । ०५६ सालमा भएको प्रतिनिधि सभामा निर्वाचित हुँदा राई देशकै कान्छो सांसदमा गनिए ।

०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग पराजित भएका राई पुनः दोस्रो संविधानसभाको निर्वाचनमा तिनै किराँतीलाई पराजित गर्दे विजयीको टिका लगाउन सफल भएका थिए । उनले ४ हजार ४ सय ८३ मतअन्तरले पराजित गर्दा ११ हजार नौ सय २७ मत प्राप्त भएको थियो ।

४५ बर्षिय राई अबिबाहित हुन भने पार्टी सदस्यता लिए यताका पुरै बर्षहरुमा उनले राजनीतिमै जीवन समर्पण गरेका छन् । एक दर्जन बढी देशको यात्रा गरेका राई राजनीतिलाई सेवाको रुपमा बुझ्छन् ।

सगरमाथा उच्च मावि घाेरेटारबाट एसएलसी गरेका राइ भाेजपुर बहुमुखी क्याम्पस हुँदै समाजशास्त्रमा स्नकाेत्तर गरेका छन् । जिल्लाको समकालिन राजनीतिमा उनि इमान्दार, निष्ठावान् नेताको रुपमा स्थापित छन् ।

सिद्धान्त र नैतिकतामा सम्झौता नगर्ने राईलाई जिल्लावासीले चुनाव जिताएर पठाएदेखी नै मन्त्रीका रुपमा हेरेका थिए । चुनावमा जनतासँग भोट माग्दा समेत मन्त्री बन्ने लगभग कबोल नै उनले गरेका थिए ।

जिल्लाको राजनीतिमा भुँइतहबाट उठेका र जिल्लाकै भूगोलमा राजनीति गरेका कारण भोजपुरबासीले मन्त्री राईबाट जिल्लामा विकासको आश गरेका छन् ।

राई त्यस्तो क्षेत्रमा जन्मेर राजनीतिमा लागेका हुन्, जहाँ नुन र पानीको सधै अभाव भईरहन्छ । रोग, भोग र शोक सँग जुधिरहेको भोजपुरका लागि राई मन्त्री भएपछिको भूमिका कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्