वडाध्यक्षसहित १६ जना जुवाडे पक्राउ, झण्डै २३ लाख रुपैयाँ बरामद


 



धनगढी, माघ १३
कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जना जुवाडे पक्राउ परेका छन् । वडा नम्बर ३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिकाको वडा नम्बर १० वडाध्यक्ष २८ वर्षीय रबिन्द्र शाही गुड्डुसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरुलाई २२ लाख ८२ हजार रुपैयाँ सहित पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार शाहीले जानकारी दिए ।

उनले आइतबार राति १० बजे उनीहरुले नियन्त्रणमा लिएको बताए । उनकाअनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका– १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उप महानगर पालिका–३ मिलचौकका ३८ वर्षीय तिलक अधिकारी, ३७ वर्षीय चन्द्रमणि अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल रहेका छन् ।

यस्तै, बैतडी दशरथ चन्द नगरपालिका– ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुर्य भट्ट, पुर्चौडी नगरपालिका– ८ का ५० वर्षीय कालुसिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका– ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका– ४ का ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए । लामो समयदेखि अधिकारीको घरमा जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्