कुवेतमा विस्फोट हुँदा ४ नेपालीको मृत्यु, घटनाको छानबिन गर्न मन्त्रीको आदेश


 


काठमाडौं, फागुन १
कुवेतको एक ढुंगाखानीमा विस्फोट हुँदा कम्तीमा चार नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा–बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा ४ नेपालसहित ६ जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट ६ जनाको शव निकालिएको छ । उनीहरुको नाम सार्वजनिक भएको छैन । समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन् । १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ ।

तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ । खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेका थिए । उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ । श्रमिकहरु खाडलमै भएका बेला ढुंगा फुटाउन बम बिस्फोट गरिएको थियो ।

विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो । स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन् । घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा। राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्