बझाङमा राहत दिन जाँदा आफ्नै ज्यानको जोखिम


 


bajhang

-ललितबहादुर सिंह 
बझाङ,  भदौ२८ बझाङ जिल्लाको विकट गाविस काँडा सदरमुकाम चैनपुरदेखि ६ दिनको पैदल यात्रामा मात्र पुगिन्छ ।

अरूलाई राहत वितरण गर्न जाँदा हरेक व्यक्ति सके यातायातको साधन खोज्छ, नभए सजिलो हुने बाटो रोज्ने गर्छन्, तर यहाँस्थित नेपाल रेडक्रस सोसाइटीका कर्मचारी भने राहत सामग्री वितरण गर्न जाँदासमेत ज्यान जोखिममा राखेर जाने गरेका छन् ।

पहिरोका कारण साउन १३ गते काँडा–४ सुख्खा झाडमा पहिरोले सात घर बगाएपछि गाउँमै गएर रेडक्रसका कर्मचारीले राहत वितरण गर्न खोज्दा पुल अभावमा उनीहरु सउखोलामा जोखिमा परेका हुन् ।

गाउँमा सात परिवार घरबारविहीन भएर पूरै गाउँ जोखिममा परेको जानकारी पाएपछि स्थलगत जानकारी लिन र पीडित परिवारलाई राहत बाँड्न शाखाबाट राहत सामग्री लिएर उनीहरु गए । हिँड्दा हिँड्दै तीन दिन बाटामा लागेपछि गाउँ जान खोज्दा सउ खोलामा पुल अभावमा राहत सामग्री बाँड्न नपाउने अवस्था आएपछि रूख काटेर काठको साँगु बनाएर गएको रेडक्रस बझाङ शाखाका कार्यालय सहयोगी देवराज बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेवा गर्ने रेडक्रसमा जागीर खाएँ, अफिसले पठाएपछि जानै प¥यो । काठको साँगुमा राहत सामग्री लिएर जाँदा त जीउ डरले काँपिरहेको थियो, अरूलाई सेवा दिँदा झन्डै परिवार जहान टुहुरा भएका ।” गाउँ पूरै जोखिममा छ, गाउँमा कोही बस्दैन, सात परिवार घरबारविहीन भएका छन्, राहतको नाउँमा रेडक्रसबाहेक अरूले सहयोग नगरेको काँडा–४ का गोरख बोहराले बताउनुभयोे ।

उहाँले भन्नुभयोे, “बर्खायामका चार महिना हामीलाई पुल अभावमा अरू गाउँसँग सम्बन्धविहीन हुनुपर्छ पुल निर्माण गर्ने गाविस, जिविस र बिपिएलाई निवेदन दिएपनि कसैले पुल बनाउन सहयोग गरेको छैन ।” स्वास्थ्य चौकी जाने पुल छैन, पुल अभावमा काँडा– वडा नं ६,७ ,८ र ९ का बासिन्दा बिरामी हँुदा उपचार गर्नसमेत वञ्चित हुनेगरेको कन्जु भण्डारीले बताउनुभयो ।

केही दिनअघि गाउँकी पूजा बोहराले सुत्केरी हुन नसक्दा सुँडेनीले बच्चा निकाल्न खोज्दा बच्चा पनि म¥यो, उनको पनि पिसाब नली च्यातियो, नेपालमा उपचार नभएर भारतमा लाँदा समेत निको भएको छैन ।

रामु खोला काँडाको वडा नं ७ र ४ को बीचमा पर्छ । स्वास्थ्यकर्मीबाट उपचार नपाएपछि झारफुक गर्न खोजिन्छ, बिरामी निको नभएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

पुल अभावमा सदरमुकाम चैनपुरबाट गाउँमा व्यापार गर्न गएका रवीन्द्र दमाईंको रामु खोला पार गर्न खोज्दा बगाएर बेपत्ता पारेको एक वर्ष बितेको छैन । सदरमुकाम चैनपुरदेखि तीन दिनको पैदल दूरीमा रहेको काँडा गाविसमा भौगोलिक विकटता भएकाले पनि कर्मचारीले काम गर्न नआउने गरेको पूर्वगाविस अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्