मुस्लिम धर्मालम्बीहरु द्धारा बकरिद धुमधामका साथ मनाइदै


 


bakarid

विराटनगर, भदौ २८  मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकरिद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन् ।

सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । सरकारले यस पर्वको उपलक्ष्यमा आज देशभर सार्वजनिक विदा दिएको छ । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ ।

यो पर्व तराईको मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहालगायतका जिल्लामा बिहानैदेखि धुमधामका साथ मनाइँदैछ ।

इदुलफित्रको ठीक ७०औँ दिनमा मनाइने गरिएको यस पर्वमा मुसलमानले पूर्णरुपले चोखो भएर इदगाह वा मस्जिदमा गएर नवाज पढ्ने गर्छन् । त्यसपछि, एकापसमा आलिङ्गन गरेर भातृत्वको सन्देश प्रवाह गर्छन् ।

सो अवसरमा विराटनगरमा विभिन्न मस्जिद र इदगाहहरुमा बिहानैदेखि नवाज पढेर एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

यस पर्वको मुख्य उद्देश्य कुरवानी भएकाले खसी, भैँसी र बाँझो पाठीलाई बलिदानी दिने गर्छन् ।

मुस्लिम धर्मग्रन्थअनुसार, अल्लाहका इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराको गर्भबाट जन्मिएको छोरा इस्माइल अलि सलामलाई अल्लाहको आदेशमा कुरवानी दिन गएका थिए ।

तर, अल्लाहले इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न भएर उनको कुरवानी स्वीकार गरी छोरा इस्माइलको ठाउँमा भेँडाको कुरवानी लिएको थियो । सोही दिनदेखि इब्राहिमको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको हो ।

यस पर्वमा कुरवानी दिएको जनावरको मासुको तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्र र एक भाग गरिब दीनदुःखीबीच बाँड्नुपर्ने नियम रहेको छ । यो पर्व तीन दिन मनाइने गरिन्छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्