रुघाखोकी लागेकाहरूपनि धमाधम अस्पतालमा, नआत्तिन चिकित्सकको सुझाव




काठमाडौं, फागुन २१
कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि त्रास फैलिएको छ । चीनको वुहानबाट सुरू भएको कोरोना अहिलेसम्म विश्वका ६४ देशमा फैलिइसकेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि यसको त्रास भने फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि त सर्वसाधारणमा एकखालको आतंक छाएको छ । अहिले समान्य रुघाखोकी लागेका मान्छे हरूपनि अस्पताल धाउन थालेका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रुघाखोकी लागेकाहरूको घुइचो लाग्न थालेको छ ।

उनीहरुमा कोरोनाको संक्रमण नभइ मौसमी रुघाखोकी लागेको हुनसक्ने भन्दै चिकित्सकहरुले नआत्तिन सुझाव दिने गरेका छन् ।

अहिले विभिन्न देशबाट आएका ६ जनालाई अस्पतालको ‘आइसोलेसन’कक्षमा राखिएको छ । उनीहरुमा पनि कोरोना पुष्टि नभएको अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीले जानकारी दिए ।

कोरोना भाइरसको पुष्टि भएका बिरामी भेटिएमा अस्पतालले आवश्यक तयारी गरिरहेको छ । यसका लागि काठमाडौंकै वीर अस्पताल, टेकु अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै पनि उपचारको व्यवस्था गरिएको छ ।

त्यसो त पछिल्लो समय कोरोनाभाइरसका कारण जनस्तरमासमेत सचेतना पनि बढेको छ । कोरोनाभाइरस संक्रमणको शंकाले आत्तिनुभन्दा रुघाखोकी लागेमा घरमै बसेर आराम गर्ने, तातो झोलपदार्थ खाने, सामान्य रुघाखोकीको औषधि खाने र बाहिर जाँदा मास्क प्रयोग गरेमा निको हुने र जोखिमसमेत कम हुने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News