नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास


 


prakash-sharan-mahat

काठमाडौँ,  भदौ २८  परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताउनुभएको छ ।

तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उहाँले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो बताउनुभएको हो । मन्त्री डा महत आइतबार भारततर्फ जानुभएको थियो ।

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज, ऊर्जामन्त्री पियूष कोयल, जलस्रोतमन्त्री उमा भारतीलगायतका नेतासँग द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा मैत्रीपूर्ण छलफल भएको बताउनुभयो ।

बिहीबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको चारदिने राजकीय भ्रमण गर्नुहुनेभएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीको शिलशिलामा परराष्ट्रमन्त्री डा महतले भारत भ्रमण गर्नु भएको हो ।

उहाँले पञ्चेश्वर जलविद्युत् परियोजना निर्माणमा भारतले तदारुकता देखाउनुपर्ने आफूले जानकारी गराएको बताउनुभयो ।

झन्डै दुईदशकअघिदेखि रोकिएको उक्त आयोजना निर्माण सम्बन्धमा २०७१ साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका नेतासँग सीमा क्षेत्रमा डुबान, कृषि वस्तुको निर्यात, कमला डाइभर्सन, हुलाकी सडक, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने रिङ्रोड, थप नयाँ नाका खोल्नेलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्