Deshko News
१४ आश्विन २०८०, आइतबार

मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक शोषण रोक्न माग



malasiya

काठमाडौँ,  भदौ २८  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ ।

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल यस्ता ३९ संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ ।

छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थाले कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको भन्दै तत्काल सो कार्य रोक्न सङ्घले माग जनाएको छ ।

यसअघि नेपाल सरकारले निर्धारण गरेको रु दुई हजार ६२५ प्रति कामदार स्वास्थ्य परीक्षण शुल्क मात्र लिन पाउने व्यवस्था रहेकोमा बायोमेट्रिक लागू भएपछि रु चार हजार ५०० कामदारबाट लिन थालिएको र अवैधानिक तरिकाले स्वास्थ्य परीक्षण गरी वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ ।

बायोमेट्रिक मेडिकलकै नाममा मलेसियास्थित मे बैंकमा प्रति कामदार रु तीन हजार २०० जम्मा गराई वार्षिक थप रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल बायोमेट्रिक मेडिकल गर्ने संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ ।

मलेसिया जाने कामदारले प्रवेशाज्ञा शुल्कबापत रु ७०० मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक संस्थाले प्रवेशाज्ञा प्रक्रियाको नाममा थप रु तीन हजार २०० लिई वार्षिक करिब रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल भिएलएन नेपाल संस्था बन्द गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

हालै वान स्टेप सेन्टर (ओएससी) नामक संस्थाले लाजिम्पाटमा कार्यालय स्थापना गरी राहदानी सङ्कलनबापत प्रति कामदार रु तीन हजार २०० लिई वार्षिक करिब रु ३० करोड ठगी गर्न लागिएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News