बाढीपहिरोले राजमार्गहरू अवरुद्ध


 


काठमाडाैं, भदाै २९
दुई दिनदेखिको निरन्तर वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । केही स्थानमा पहिरोका कारणले मानिस विस्थापित भएका छन् भने राजमार्ग अवरुद्ध भए । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिएको सिरहाको कार्यक्रममा जान हिँडेको राज्यमन्त्रीसहितको टोली रौतहटमा बाढीले रोकिएको छ ।

ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत र केही सांसदहरू रौतहटमै रोकिएका हुन् । वर्षाकै कारण मौसम प्रतिकूल भएपछि काठमाडौंबाट हेलिकप्टर जान नसकेपछि प्रधानमन्त्री दाहाल सिरहा जान सकेनन् ।

पूर्वपश्चिम राजमागकोे चन्द्रनिगाहपुरको पौराई जंगलमा बाढी आएको प्रहरीले जनाएको छ । रौतहटमा बाढीमा फसेका यात्रुवाहक बसको सुरक्षाकर्मीले उद्धार गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बसमा फसेका यात्रुको उद्धार गरेको हो । राजमार्ग अवरुद्ध भएपछि करिब एक हजार बस, ट्रक र साना गाडी चन्द्रनिगाहपुरको जंगल क्षेत्रमा रोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको कुहिरेभीर ढाडेडाँडामा मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उक्त खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

आइतबारदेखि खस्न थालेको पहिरो अझै रोकिएको छैन । पहिरो पन्छाउने प्रयासमा सुरक्षाकर्मी परिचालित भएपनि सुख्खा पहिरो खसिरहेकाले सडक तत्काल खुलाउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि राजधानीबाट घुर्मी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बू हिँडेका यात्रु अलपत्र परेका छन् ।

मेचीराजमार्गको चारआली–इलाम–पाँचथर–ताप्लेजुङ खण्डमा पनि पहिरो खसेको छ । मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । ताप्लेजुङको ल्याङ्वा, बहानन्दे क्षेत्रमा पहिरो झरेको हो ।

यही भदौ १७ मा पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर सडक सुचारु भएको केही दिनमा उक्त स्थानमै पहिरो खसेर सडकमा थुप्रिएको छ । पहिरोले गोरेटोबाटो पनि बन्द भएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताए ।

यस्तै सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मी सडकखण्डको घुर्मी बजारको माथिल्लो खण्ड र लेखानी–२ को बेतिनीमा सोमबार बिहान खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पर्वतमा अविरल वर्षाले ५ परिवार विस्थापित बनेका छन् ।

पर्वतको भुकताङ्ल–७, मिदुका पाँच घर विस्थापित बनेका हुन् । तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेपछि उनीहरू आफन्तकोमा बसेका छन् ।

पहिरोले भुकताङ्ल–८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजनाको नहर भत्किएको छ । नहर भत्केपछि विद्युत् उत्पादन बन्द भएको स्थानीयले बताएका छन् । विद्युत् आयोजना बन्द भएपछि भुकताङ्लका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । बाजुङ–६ मा रहेको पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ ।

कन्चनपुरको देखतभुली–६ को मछरी खोला र बनरा खोलामा वर्षाले पानीको बहाव बढ्दा खोलाको बीचमा थुनिएका ३ जनालाई प्रहरीले उद्धार गरेको छ । खोलामा दाउरा निकाल्न गएका स्थानीय ३५ वर्षीय प्रेम चौधरी, ४५ वर्षीय साधु राना र ३० वर्षीय हर्दुलिया राना दुई खोलाको बीच टापुमा थुनिएका थिए ।

गुलरिया प्रहरीले उनीहरूको उद्धार गरेको हो । रसुवाको टिमुरे–७, लिङलिङनजिक सडकमा पहिरो खस्दा बाटो पूर्णरूपमा अवरोध भएको छ । सीमा प्रहरी चौकी टिमुरेबाट प्रहरी टोली र सडक डिभिजन कार्यालयले सडक खुलाउने प्रयास गरिरहेका छन् ।

सोलुखुम्बूको दूधकुण्ड नगरपालिका–७, नागिममा सल्लेरीबाट नेलेतर्फ जाने भित्री सडक पहिरोले अवरुद्ध भएको छ । रामेछापको कुबुकास्थली–५ ब्रान्डेडमा ओलखबहादुर सुनारलगायत ३ जनाको घर र गोठ बगाएको छ । गुम्देल–८, खेतबारी पहिरोले पुरिएको छ भने ३० घर उच्च जोखिममा रहेका छन् । सिन्धुलीको शान्तेश्वरी–६ का चन्द्रकुमार कर्माचार्यको कच्ची गोठमा पहिरो खस्दा गोठ, भैँसी र पाडो पुरिएका छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्