मृत्यु संस्कारबारे गोष्ठी हुँदै


 


काठमाडौँ, भदौ ३१

नेपाल प्रज्ञा–प्रतिष्ठान र जन सांस्कृतिक प्रतिष्ठान, नेपालले संयुक्तरुपमा मृत्यु संस्कारसम्बन्धी विचार गोष्ठी आयोजना गर्ने भएका छन् । भदौ ३१ गते, शुक्रबारका दिन मध्यान्ह प्रज्ञा भवनको पुस्तकालय हलमा आयोजना गरिने ‘मृत्यु संस्कार सुधारका सम्भावानाहरू’ विषयक विचार गोष्ठीमा वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलगायतका सांस्कृतिक धरोहरहरूको विशेष उपस्थिति रहने प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले बताए ।

सांस्कृतिक प्रतिष्ठानका महासचिव प्रेमनाथ अधिकारीका अनुसार गोष्ठीमा डा. प्रेम खत्रीले ‘विभिन्न जातजातिहरुमा चलिआएको मृत्यु संस्कार’, शङ्करप्रसाद पोखरेलले ‘सनातन मृत्यु संस्कारमा सुधारको आवश्यकता र शास्त्रीय आधार’ र ‘भिक्टर प्रधानले ‘मृत्यु संस्कारका सम्बन्धमा सुधारका लागि हालसम्म भएका गतिविधिहरू’ शीर्षकका कार्यपत्र प्रस्तुत गर्नेछन् । गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रहरूमाथि डा. जगमान गुरुङ, मोदनाथ प्रश्रित र विष्णु प्रभातको टिप्पणी रहनेछ ।

प्रज्ञा–प्रतिष्ठानका सञ्चार संयोजक तथा प्राज्ञसभा सदस्य शशी लुमुम्बूले भने, ‘गोष्ठीमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिकर्मी खगेन्द्र राई, उपाध्यक्ष तथा सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापालगायतले मृत्यु संस्कार सुधारका सम्भावनाहरुबारे आआफ्ना धारणा राख्नु हुनेछ ।’

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्