क्वारेन्टाइनमा नराख्दा गाउँ–गाउँमा जोखिम उच्च


 


काठमाडौं चैत १७

जब कोरोना सन्त्रास उच्च भयो, दैनिक हजारौं नेपाली भारतीय नाका हुँदै स्वदेश फर्किए । तर, फर्केकामध्ये धेरै जना अहिले पनि निर्धक्क गाउँघरमै छन् । यसले संक्रमण फैलाउने जोखिम उच्च पारेको छ ।

पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिम प्रदेशको दुई नाकाबाट तीन सातामा एक लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । तर, एक हजार पनि क्वारेन्टाइनमा नहुँदा चिन्ता बढेको छ ।

सरकारको निर्णयअनुसार काम भएको भए उनीहरु स्वदेश फर्केदेखि आफ्नै घरमा १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ । तर, प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्मका स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन स्थल पनि बनाएका छन् । तर भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् ।

सहर, बजार सुनसान छ । तर, गाउँ घरमा भारतबाट आएकाहरुको लर्को छ ।

कैलालीको गौरिफन्टा नाकाबाट मात्र यो अवधिमा ४२ हजार भन्दाबढी नेपाल भित्रिएका छन् । फागुन २२ गतेदेखि गौरिफन्टा नाकाबाट मात्रै ४२ हजार ५६ जना नेपाल भित्रिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

गड्डाचौकी नाकाबाट भित्रिएकालाई पनि जोड्दा यो संख्या १ लाख ९ हजार ५६ जना पुग्छ ।

यस्तै बैतडी र दार्चुलाको नाकाबाट पनि हजारौंको संख्यामा नेपाल प्रवेश गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन बन्द गरेपछि पनि नेपाल आउने क्रम भने रोकिएको छैन । चोर नाका हुँदै प्रवेश गर्ने क्रम चलिरहेकै छ ।

भारतका विभिन्न ठाउँबाट आएर बुधबार दिउँसोदेखि अलपत्र परेका २०६ लाई शुक्रबार बेलुकी दार्चुलाबाट उद्धार गरियो । यसअघि कैलालीको गौरिफन्टा नाकाबाट ९ सय ९८ जनाको उद्धार गरिएको थियो । उनीहरु पनि क्वारेन्टाइनमा छैनन् ।

स्थानीय तहले क्वारेन्टाइन स्थल बनाए पनि कोही बस्न नमानेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदकाअनुसार आफ्नो क्षेत्रमा मात्र एक हजारभन्दा बढी भारतलगायतका मुलुकबाट भित्रिएका छन् । तर उनीहरुमध्ये २० जना मात्रै क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्