निजी अस्पताललाई सर्वोच्चको आदेशः बिना शर्त कोरोना सं‌क्रमितको उपचार गर्नु


 


काठमाडौं, चैत १८
सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ ।

अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ–’निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयु कक्ष,भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यव्स्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रबन्ध मिलाउनू ।’

अदालतले संसदको हिउँदे अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत आवश्यक नीतिगत तथा कानुनी व्यवस्था मिलाउने मागका सन्दर्भमा भने अन्तरिम आदेश दिएन । रिट निवेदक पौडेलका अनुसार यस सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई चैत २३ गते बोलाइएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्