बालकसहित तीनजनाको उद्धार


 


logodesh

बैतडी,  असोज ३ भारत जान लागेका दुई बालकसहित तीनजनाको प्रहरीले आज बैतडीको सीमानाका झुलाघाटबाट उद्धार गरेको छ ।

उद्धार गरिनेमा बैतडी डिलासैनी–३ धामीगाउँका गणेश भुलका १५ वर्षीय छोरा किशोर भुल, डिलासैनी–३ खर्कका मनिराम भुलका १५ वर्षीय छोरा वीरेन्द्र भुल र डिलासैनी–३ मष्टाखण्डाका कालुराम सार्कीका १७ वर्र्षीय छोरा प्रेम सार्की रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले आज बैतडीको सीमा नाका झुलाघाटमा रहेको प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा घरपरिवारलाई थाहै नदिई भारत जान लागेको खुलेपछि उद्धार गरेको हो । उद्धार गरिएका तीनैजना स्थानीयवासी कफलासैनी मावि पुजारीगाउँमा कक्षा ९ मा अध्ययनरत रहेका थिए । उद्धार गरिएका तीनैजनाका घरपरिवारलाई खबर गरिसकेको र घरपरिवार आएपछि घरपरिवारकोे जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि पनि प्रहरीले भदौ २१ गते बैतडीको सीमा नाका झुलाघाटबाट पाँच किशोरकिशोरीको उद्धार गरेको थियो । यही भदौ २१ गते उद्धार गरिनेमा शिवलिङ्ग–३ का शालिभान दमाईंका १८ वर्षीय छोरा दीपक दमाईं, थलाकाडा–८ का जङ्गे दमाईंकी १५ वर्षीया छोरी चनमती दमाईं, महादेवस्थान–४ जसाउका गणेशदत्त पन्तका १६ वर्षीय छोरा विष्णुदत्त पन्त, सोही ठाउँका हरिदत्त पन्तका १७ वर्षीय छोरा वसन्तराज पन्त र रामदत्त पन्तका १७ वर्षीय छोरा पुस्करराज पन्तलाई उद्धार गरेको हो । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जाने बालबालिकाको सङ्ख्या बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्