महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने


 


prakash-asran-mahat

काठमाडौँ, असोज ३ संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गर्नुहुने भएको छ ।

यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले भ्रमण स्थगन गरेपछि परराष्ट्रमन्त्री डा महतले नेतृत्व गर्न लाग्नुभएको हो ।

महासभामा भाग लिन पराष्ट्रमन्त्री डा महत आइतबार नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ भने अन्य नेपाली प्रतिनिधिमण्डलका सदस्य आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा सांसद मोहनबहादुर बस्नेत, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र राष्ट्र सङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ लगायत हुनुहुन्छ ।

“दिगो विकास लक्ष्य ः पृथ्वीको रुपान्तरणका लागि विश्वव्यापी दबाब”भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु हुने महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महतले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ रहँदा डा महतले ‘दिगो विकासको कार्यसूची २०३०’ का साथै शरणार्थी र आप्रवासीसम्बन्धी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्