कोरोनाका सङ्क्रमितमा नयाँ लक्षण, चिकित्सकहरू अचम्मित !


 


एजेन्सी, बैशाख १४
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरूमा नयाँ खालका समस्या देखिएपछि अहिले डाक्टरहरू नै हैरानीमा परेका छन् । छाला रोग विशेषज्ञहरूलाई टाउको दुखाइको विषय बनेको यस्तो स्वास्थ्य समस्या बिशेषगरी बच्चा र युवाहरूमा देखिएको छ ।

सबैभन्दा पहिला मार्च महिनामा इटालीका बिरामीहरूमा देखिएको भनिएको यो लक्षणमा बिरामीका खुट्टाका औलाहरू सुन्निने गरेको छ । त्यस बाहेक तिनीहरूको रङ्ग समेत परिवर्तन हुने गरेको पाइएको छ । यो नयाँ समस्यामा सबैभन्दा पहिले खुट्टामा चिसोले सुन्निए जस्तो हुन्छ । खास गरी इटालीको ठण्डा क्षेत्रमा यो समस्या देखिएको थियो । खुट्टाका औलामा रक्त प्रवाह गर्ने नशामा अवरोध उत्पन्न भएर तिनीहरूमा समस्या गराउने काममा समेत कोरोना सक्रिय भएको अनुमान अहिले डाक्टरले लगाइरहेका छन् ।

इटालीमा कोरोना सङ्क्रमित बिरामीको खुट्टामा यस्तो समस्या देखिएपछि डाक्टरहरूले यसको नाम नै ‘कोभिड टोज’ नाम राखेका छन् । कोभिड टोजको यही लक्षण अहिले अमेरिकाको बोस्टन सहरका बिरामीमा पनि देखिएको छ । बोस्टन त्यस्तो अमेरिकी सहर हो जुन कोरोनाबाट अत्यधिक प्रभावित अमेरिकी सहर मध्ये एक हो ।

कोरोनाको कुनै पनि लक्षण नदेखिएका तर खुट्टामा उल्लेखित समस्या देखिएकाहरूमा कोरोनाको परीक्षण गर्दा पोजेटिभ देखिए पछि कतै कोरोनाको पहिलो लक्षण नै यो त होइन भन्ने बहस समेत त्यहाँ सुरु भएको छ । त्यसैले अमेरिकन एकेडेमी अफ डर्मेटोलोगीसँग सम्बन्धित डाक्टरले यदि कोही ‘कोभिड टोज’ समस्या सहित आएभने उनीहरूको सर्वप्रथम कोभिड-१९ टेष्ट गर्न सुझाएका छन् ।

यसअघी स्पेनका डाक्टरहरूले समेत खुट्टामा यस्तो घाउ देखिनु पनि कोरोना सङ्क्रमणको लक्षण हो भनेर मानिसकेका छन् । कुनै लक्षण नै नभएका मानिसमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि यसअघि नै निराश बनेका डाक्टरहरू कोरोनाको नयाँ नयाँ लक्षण देखिएपछि अझ बढी समस्यामा परेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्