नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुने : सभापति देउवा


 


sher bahadur deuba

काठमाडौँ, असोज ५  नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा एक दिन प्रधानमन्त्री पनि महिला हुने बताउनुभएको छ ।

पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न यहाँ आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

संविधानसभाबाट संविधान जारी भएपछि महिलाका हक अधिकार बढेको बताउँदै उहाँले भन्नुभयो, “छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान गरेको छ ।”

संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै सभापति देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।

निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न काँग्रेसले जित्नैपर्ने बताउँदै उहाँले त्यसमा महिला सङ्घलगायत भ्रातृ संस्थालाई सक्रिय रुपमा लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकार गठनका बेला सत्तासाझेदार दलसँग भएका सहमतिका आधारमा संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नुु अपरिहार्य रहेकामा जोड दिँदै उहाँले सबै तहका निर्वाचनलाई केन्द्रीय मुद्दा मानेर अघि बढ्न महिला सङ्घलाई सुझाव दिनुभयो ।

कार्यक्रममा पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हारजित नहुने बताउँदै नयाँ निर्वाचित नेतृत्वले सबैलाई मिलाएर अघि बढ्न सकेमात्र सफल हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ काम गर्न नेतृत्वको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभयो ।

कार्यक्रममा महिला सङ्घका नवनिर्वाचित अध्यक्ष उमा रेग्मी, निवर्तमान अध्यक्ष डा डिला सङ्ग्रौला, पूर्वसभासद् उर्मिला थापामगर लगायतले महिलाका लागि संविधानले व्यवस्था गरेका हकअधिकार कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्