कोटभैरव मन्दिरमा विशेष पूजाआजा


 


kot-bhairav

पोखरा, असोज ८ लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालीन कोट भैरव मन्दिरमा दसैँका अवसरमा विशेष पूजा गरिने भएको छ ।

प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा हुने र विजया दशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलनअनुरुप यस वर्ष यही असोज १५ गते घटस्थापनादेखि २४ गते महानवमीसम्म नियमित विशेष पूजासहित दुर्गा सप्तशती पाठ गरिने भएको छ ।

कोटभैरव संरक्षण एवम् संवद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतका अनुसार मन्दिरमा घटस्थापना गरी सप्तमीमा फूलपाती भित्र्याउनुका साथै महाअष्टमी, कालरात्रि, महानवमी आदिका विशेष पूजा गरिने छ ।

आश्विन शुक्लपक्ष अवधिभर कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी यहाँ आउने गरेका छन् । नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा रहेका कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा आदिकालदेखि पूजा आजा गरिँदै आइएको पाइन्छ ।

यो मन्दिर परिसरवाट माछापुच्छ्र्रे, अन्नपूर्ण र धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदीको एक साथ अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट करिब एक हजार एक सय चालिस मिटरको उचाइमा यो मन्दिर रहेको छ ।

उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो मन्दिर उचित स्थान रहेको समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्