संविधान नमान्नेलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम


 


bamdev

काठमाडौँ, असोज ८  नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्छ भन्नुभयो ।

“नेपालको संविधान सबैले मान्नुपर्दछ”, उहाँले भन्नुभयो – “संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए तापनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्दछ ।”

उहाँले संविधान जारी भइसकेपछि कार्यान्वयन भइसकेको उल्लेख गर्दै सीमाङ्कनका सवालमा कुनै जिल्लाको सीमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभयो ।

कार्यक्रममा सांसद हिराबहादुर केसी, धनबहादुर रायमाझीले संविधान कार्यान्वयनतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्