महामति प्राणनाथको जीवन दर्शनबारे सङ्गोष्ठी


 


14508658_1035844849870310_1177350200_nकाठमाडौँ, असाेज १२

मध्ययुगीन भारतका अन्तिम सन्तकवि एवम् धार्मिक एकताका प्रतीक महामति प्राणनाथको ३९९औँ जन्मजयन्तीका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक प्राज्ञिक सङ्गोष्ठीको आयोजना गरेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालसँगको सहकार्यमा आयोजित उक्त प्राज्ञिक सङ्गोष्ठीमा बोल्दै श्री १०८ अमृतराज महाराज गादीपतिले महामति प्राणनाथको जीवन दर्शनलाई सबैले आत्मसात गर्न सके मानव जीवन धन्य हुने विचार व्यक्त गर्नु भयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. माधवराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो, ‘आफ्नो समस्त जीवन धार्मिक एकताको समर्पित गर्नु हुने प्राणनाथ प्रणामी नामक एउटा नयाँ पथका प्रर्वतक पनि हुनु हुन्छ, जुन पथमा समस्त धर्मका मानिस समेत संलग्न रहे ।’

कार्यक्रमका संयोजक एवं प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका प्रमुख प्रा. दिनेशराज पन्तले विगत चार–पाँच वर्षदेखि प्रतिष्ठानले प्रणामी धर्मका प्रर्वतक महामति प्राणनाथको जन्मजयन्ती नियमित मनाइरहेको उल्लेख गर्नु हुँदै इतिहासका यस्ता अद्भूत मानवहरूको स्मृतिले मानवजीवनलाई ऊर्जाशील बनाउने बताउनु भयो ।

कार्यक्रममा लीलाप्रसाद सापकोटा र प्रा.डा. इन्दु आचार्यले महामति प्राणनाथको जीवन दर्शन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रको छलफमाथि सहभागीले उत्साहजनक रुपमा भाग लिनुभएको थियो । कार्यक्रममा प्राणनाथस्तुति र वाणी गायन प्रस्तुत गरिएको थियो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञपरिषद्, प्राज्ञसभा तथा आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्