‘यात्रु सचेतना अभियान’ सुरु


 


traffic

ललितपुर, असोज १४

भाडादरका विषयमा जानकारी नभएर यात्रु ठगिनु नपरोस् भनेर ट्राफिक प्रहरीले आजदेखि ‘यात्रु सचेतना अभियान’ सुरु गरेको छ ।

यात्रुलाई कुन ठाउँबाट कहाँसम्म कति दूरी र कति भाडादर भनेर सचेत गराउन लागिएको महानगरीय ट्राफिक प्रहरी परिसरले जानकारी दिएको छ । सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकको भन्दै धेरै भाडा लिँदै आएका छन् । थोरै यात्रुले भाडा बढी लिँदा चालक÷सहचालकलाई गुनासो गर्छन् । धेरैलाई भने आफुलाई कहाँसम्म पुग्दा कति भाडा तिर्नुपर्छ भन्नेसमेत जानकारी हुँदैन ।

पहिलो चरणमा लगनखेल–रत्नपार्क रुटलाई लक्षित गरेर होर्डिङ बोर्ड बनाइएको परिसरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक ‘बस स्टप’मा दूरी र भाडादर देखिने गरेर राखेका छौँ ।” यसअघि उपत्यकामा ट्याक्सीलाई लक्षित गरेर सार्वजनिक स्थानमा भाडादर राखेपनि बस÷माइक्रो लक्षित गरेर राखिएको थिएन । विभिन्न स्टपमा होर्डिङबोर्ड र बसभित्र भाडादर टाँस्न लागिएको हो ।

लगनखेलबाट कुपण्डोलसम्म पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल, दमकल मोड, पुल्चोक, हरिहरभवन, इनारमोडलगायतका स्थानमा यात्रु लक्षित होर्डिङबोर्ड टासिएको हो । यसबाट यात्रुले सार्वजनिक सवारी चढ्नु पहिले नै आफूले कति भाडा तिर्नुपर्नै जानकारी पाउँछन् ।

बस स्टपमा यात्रुले देख्ने गरेर दूरी र भाडादर राख्दा यात्रु आफू मर्कामा पर्दा उजुरी गर्न सहज हुने प्रहरी निरीक्षक हाछे्थु बताउनुहुन्छ । त्यस्तै, सार्वजनिक सवारीको ढोका र पछाडि गरेर दुई ठाउँमा राख्दा यात्रु र चालक दुवैले देख्न सक्छन् ।
पहिलो चरण सकिएपछि लगनखेल हुँदै ललितपुरका काँठ क्षेत्रमा जाने सवारी लक्षित गरेर काम गरिने उहाँले बताउनुभयो । दोस्रो चरणमा लगानखेल हुँदै गोदवरी, चापागाउँ, लुभु, भैँसेपाटीलगायत ठाउँमा जाने सवारी साधनमा यो अभियान सञ्चालन हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नं १०३, ललितपुर परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । छिट्टै प्रहरीले छड्के जाँचबाट पनि कारबाही प्रक्रिया अघि बढाउँदैछ ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्