फुटकाे संघारमा एमाअाेवादी


 


काठमाडाैं, असाेज २०

प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको बचेखुचेको साख पनि समाप्त पारेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । कांग्रेससँग गठबन्धन सरकार बनाएपछि सरकारले लिएको वाध्यात्मक बाटोले पार्टीलाई सिध्याउने अवस्था उत्पन्न भएको भन्दै माओवादी भित्र चर्काे असन्तुष्टि उत्पन्न भएको हो ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले केही ठाउँमा मुखै फोरेर भने पनि एकता प्रक्रियाबाट आएका अर्का वरिष्ठ नेता रामबहादुर थापाले आफू निकट कार्यकर्तासँग गुनासो गर्ने गरेका छन् । विरोध र असन्तुष्टि हुँदा हुँदै पनि संगठनमा पकड कायम गर्न चुप लागेर बस्नु परेको थापाले आफू निकटहरुसँग भन्ने गरेका छन् ।

‘खासगरी राष्ट्रियताको मुद्दामा पार्टी उठ्नै नसक्नेगरी ड्यामेज भयो’ थापा निकट स्रोतले भन्यो, ‘यो सरकारबाट असफल भएर फर्किनु भनेको पार्टी समाप्त हुनु हो । असफल हुने दिशामा चुपचाप अघि बढ्न वाध्य हुनु पर्यो ।’ १० वटा माओवादी समुहबीच भर्खरै एकता भएकाले पार्टी भित्र नयाँ ध्रुवीकरणका लागि अहिले चुप लाग्नु परेको थापाले वताउने गरेका छन् ।

उनले अहिले अध्यक्ष दाहाललाई सत्ता कसरी निरन्तर कायम राख्ने भन्ने मात्रै चिन्ता भएकाले आफूहरुको ध्यान संगठनमा पकड जमाउने रहेको निकटवर्तीहरुसँग वताउने गरेका छन् ।

‘राष्ट्रियता विरोधी र भारत परस्त भनेर सार्वजनिक रुपमा लागेको आरोप खण्डन गर्न सक्ने ठाउँ पनि छैन र मधेसको समस्या समाधानमा पनि असफल भएर सरकारबाट फर्किनु पर्ने अवस्थामा पार्टीलाई अनियन्त्रित क्षति पुग्छ’ माओवादीका केन्द्रीय सचिवालयका एक नेताले भने, ‘माओवादीलाई बिटुल्याएर छोड्ने र अर्काे सरकार गठन गरी चुनाव गर्ने अवस्था आए हामी सकिन्छौं ।’

संविधान संशोधनका विषयमा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न कांग्रेसमा रामचन्द्र पौडेल पक्षले माग गरेको छ भने प्रदेशको सीमाङकन हेरफेरका विषयमा माओवादी भित्र पनि असन्तुष्टि छ । यस्तो अवस्थामा दाहाल सरकारले संविधान संशोधनलाई हल्लाको मात्रै विषय बनाएको पुष्टि हुन्छ ।

पूर्ववर्ती ओली सरकार ढाल्दा माओवादीमाथि विदेशीको खेलौना बनेको भन्ने जुन सार्वजनिक आशंका थियो त्यसलाई सोही दलका आन्तरिक फोरमहरुले पनि पुष्टि गर्ने अवस्थामा माओवादी फेरि फूटको संघारमा पुग्ने देखिन्छ । त्यसका लागि नै अहिले भद्रगोल रहेको संगठनमा रामबहादुर थापाले आधिपत्य जमाउँदै आएका छन् ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्