अब सुदूरपश्चिमको आर्थिक विकासले गति लिन्छ : मन्त्री भट्ट


 



धनगढी, कार्तिक १७
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्मि प्रदेशको आर्थिक विकासले अब गति लिने दाबी गरेका छन् । मन्त्री भट्टसहितको प्राविधिक टोलीले कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकनपछि सोमबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

स्थलगत भ्रमणपछि प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री भट्टले विगत एक दशकदेखि रोकिएको विकास निर्माणको कामले अब गति लिने दाबी गरे । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र अन्तरदेशीय विशेष आर्थिक क्षेत्र स्थापनाको शुभारम्भ भएको उनले बताए । महाकाली नगरपालिकाको मायापुरी र गौरीशङ्कर क्षेत्रमा करिब ४९६ हेक्टर अर्थात् ७ सय ३४ बिगाहा जमिनमा नेपाल भारत अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहितको सुख्खा बन्दरगाह निर्माण सुरु गर्न मन्त्रालयका सह–सचिव नेतृत्वको टोलीले स्थलगत अध्ययन थालेको उनले दाबी गरे ।

मन्त्री भट्ट नेतृत्वको उच्चस्तरीय टोलीले अत्तरिया–धनगढी औद्योगिक कोरिडोरको स्थलगत अध्ययन र अनुगमन गरेको छ । अत्तरियादेखि धनगढीसम्मको करिब १५ किलोमिटर राजमार्गको दुबैतर्फ उद्योग पूर्वाधारसहितको सुविधा सम्पन्न आर्थिक कोरिडोर स्थापनाको काम अघि बढेको मन्त्री भट्टले बताए । अत्तरिया–धनगढी कोरिडोरको मास्टर प्लान तयार गरी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइरहेको उनको दाबी छ ।

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणको पनि थालनी भएको मन्त्री भट्टले बताएका छन् । दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागी तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्विकृृत भएसँगै निर्माण कार्यको पनि सुरुवात भइसकेको उनले जानकारी दिए ।

प्रेस ‘ब्रिफिङ’का क्रममा मन्त्री भट्टले कैलालीको त्रिपुर हरैया विशेष आर्थिक क्षेत्रको चार किल्लाको पनि स्थलगत अनुगमन गरिएको बताए । करिब दुई सय हेक्टर क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि विस्तृत इन्जीनियरिंग अध्ययन कार्य सुरु भएको मन्त्री भट्टले बताए ।

उद्योग मन्त्री लेखराज भट्टको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ड अर्यालसहितको उच्चस्तरीय टोलीले कार्तिक ७ गतेबाट सुदूरपश्चिमको स्थलगत भ्रमण थालेको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्