भिटेनको मुद्दामा अदालतले दियो यस्तो अन्तरिम आदेश




काठमाडौं, कात्तिक १८
उच्च अदालत पाटनले र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउनसमेत आदेश दिएको छ। गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए। उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

र्‍यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर विवादमा तानिएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी समेत मागेका थिए ।
गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News