एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ भदौ १८ गते हुने
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को २३औँ संस्करण आगामी भदौ १८ गते आयोजना गर्ने घोषणा गरेको छ।
मञ्चले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अवार्ड नेपाल पुलिस क्लबको द ब्लु पवेलियन मा आयोजना हुने जानकारी दिएको हो।
अवार्डका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप सँग सम्झौता पनि गरिएको छ। गोल्छा ग्रुप लगातार १९औँ वर्ष अवार्डसँग आबद्ध भएको हो। सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।
मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन्।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका मनोनयन सूची केही दिनमै सार्वजनिक गरिनेछ। प्रत्येक विधामा पाँच–पाँच जना मनोनयनमा रहने प्रावधान छ।
पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार







