अमिताभ बच्चनविरुद्ध प्रहरीमा उजुरी


 


एजेन्सी, कार्तिक १९
भारतको लोकप्रिय रियालिटी क्वीज शो ‘कौन बनेगा करोड’ (केबीसी)ले बलिउड अभिनेता अमिताभ बच्चनलाई विवादमा तानेको छ। साेही विवादका कारण उनीविरुद्ध प्रहरीमा उजुरी समेत परेको छ।

भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका हुन्। पवार लातुरको औसाबाट प्रतिनिधित्व गर्छन्। पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध प्रहरीमा उजुरी परेकाे हाे।

अमिताभको कार्यक्रम केबीसीको शुक्रवार प्रसारित कर्मवीर एपिसोडमा सोधिएको एक प्रश्नले हिन्दु र बौद्ध धर्मावलम्वीको भावनामा चोट पुर्‍याएको सांसद पवारको आरोप छ। लातुरका एसपी निखिल पिंगलेलाई पवारले उजुरी दिएका हुन्। उजुरीपत्रमा प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गरिएको छ।

पवारले उजुरीपत्र ट्वीटरमा राख्दै लेखेका छन्, ‘हिन्दुहरुलाई बदनाम गर्ने प्रयास गरिएको छ। साथै बुद्ध र हिन्दुहरुलाई एक अर्काबाट अलग देखाउने प्रयास गरिएको छ। जबकी यी दुबै लामो समयदेखि प्रेमपूर्ण तरिकाबाट बसिरहेका छन्।’

पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको उल्लेख गर्दै यो प्रश्न पछाडिको नियत हिन्दुहरुको भावनामाथि खेलवाड गर्नु भएको दावी गरेका छन्।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्