हङकङमा रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको मृत्यु


 


काठमाडौं, मंसिर १
हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको मृत्यु भएको छ।

मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। पहिचान भएका अधिकांश बागलुङ जिल्लाका भएको बताइएको छ। उपचार गराइरहेका अन्य कम्तिमा १० जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन्।

बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन्।

उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्पतालको आईसीयूमा उपचार भइरहेको बताए। यमलाल कँडेलले राजको क्वांग वाह अस्पतालमा र उनकी छोरीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको बताए।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्