सुदूरपश्चिम महोत्सव निर्धारित मितिमा नहुने


 



धनगढी, मंसिर २१
हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष निर्धारित मितिमा नहुने भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीको जोखिमका कारण यस वर्ष महोत्सव निर्धारित मितिमै नहुने भएको हो । कैलाली उद्योग वाणिज्य संघ कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हरेक वर्ष मंसिर २२ गतेदेखि आयोजना हुँदै आएको महोत्सव यस वर्ष त्यही मितिमा हुने जनाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोनाका कारण मेला महोत्सव गर्न नदिने मापदण्ड बनाएका कारण महोत्सव निर्धारित मितिमै नहुने बताए । यद्यपि भिडभाड हुने विभिन्न सामाजिक क्रियाकलाप हुन थालिसकेको र आर्थिक क्षेत्रनै कमजोर भइरहेका कारण महोत्सव आयोजनाका लागि भने सरकारसंग पहल गर्ने उनले बताए । ‘यस वर्ष निर्धारित मितिमै महोत्सव हुँदैन,’ अध्यक्ष कुँवरले भने, ‘तरपनि केही समय पछि भएपनि महोत्सव आयोजना गर्नका लागि सरकारसंग समन्वय गर्ने छौं ।’

संघका महासचिव ओम विष्टले अहिले स्थगित भएपनि अर्को मितिमा महोत्सव आयोजना गर्न छिट्टै जानकारी गराउने बताए । उनले व्यवसायीले आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने थलोका रुपमा लिइँदै आएको महोत्सव आयोजना गर्न अनुमति पाउने आशासमेत व्यक्त गरे । महोत्सव आयोजना भएमा कोरोनाबाट सिथिल भएको व्यापार व्यवसाय, साना तथा मझौला व्यवसाय, रोजगारी गुमाएकाहरुका लागि केही सहयोग पुग्ने उनको भनाई छ ।

उद्योग वाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि : आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमार्फत व्यवसायीहरुका तर्फबाट सरकारलाई सालिन माग पनि राखिने गरिएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्