नियन्त्रणमै रहेका तस्कर पनि भगाउँछ प्रहरी


 



अंकुश कुँवर/धनगढी, मंसिर २८
धनगढी उपमहानगरपालिकाको जुगेडा क्षेत्र हुँदै भारतबाट बोइलर कुखुरा तस्करी हुन थालेपछि त्यहाँका कुखुरा व्यवसायीहरुले त्यसलाई रोक्ने योजना बनाए ।

जुगेडामै दर्जनौं कुखुरा फर्महरु हुँदाहुँदै सीमावर्ती भारतीय बजारबाट सस्तोमा बोइरल कुखुरा आउन थालेपछि आफूहरु मारमा पर्न थालेको भन्दै त्यसलाई रोक्न उनीहरु सर्वप्रथम संगठित भए । खप्तड कुखुरा पालक कृषक समूह गठन गरेर एकजुट भएका व्यवसायीहरु अबैध कुखुरा नियन्त्रण गर्न रातिको समयमा जाग्राम (सेन्टी) बस्न थाले ।

यसैक्रममा शुक्रबार राति १० बजे स्थानीय कुखुरा व्यवसायीहरुले से ३ प १३९७ नम्बरको मोटरसाइकलमा कुखुरा ल्याउँदै गरेको अवस्थामा दुई जना तस्करलाई नियन्त्रणमा लिए । त्यतिकैमा प्रहरीलाई खबर गर्न खोजे तर सम्पर्क भएन । प्रहरीलाई सम्पर्क नभएपछि उनीहरुमध्ये एक जना विजय राई प्रहरीलाई आफै खबर गर्न त्यहाँस्थित अस्थायी प्रहरी चौकीमै पुगे । तर, त्यतिञ्जलसम्म अर्को बाटो हुँदै दुई जना प्रहरी तस्कर नियन्त्रणमा लिएको ठाउँमा पुगिसकेका थिए ।

कुखुरा व्यवसायीले तस्करीमा प्रयोग गरिएको बाइक, कुखुरा र त्यसमा संलग्न व्यक्तिलाई कारबाहीका लागि प्रहरीलाई बुझाए । तर, प्रहरीले भने उनीहरुलाई त्यतिनै बेला भाग्ने वातावरण बनायो । प्रहरीकै अगाडि तस्कर भागे । तस्करलाई भगाएको भन्दै रातिनै आक्रोशित बनेका स्थानीय विहान प्रहरी चौकीमा पुगेर कार्यालय नै घेराउ गरे । व्यवसायीहरुले नियन्त्रणमा लिएर पनि भगाएको आरोप लगाउँदै तस्करलाई तुरुन्तै झिकाएर कारबाही गर्न माग गरे ।

स्थानीयको मागपछि प्रहरीले दुई जनामध्ये एकजनालाई मात्रै चौकीमा बोलायो । अर्को एकजना सम्पर्कमा आएनन् । सम्पर्कमा आएका व्यक्ति पनि सोही क्षेत्रमा रहेका एक व्यक्तिको सम्पर्कबाटै बोलाइएका हुन् । कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला घर भएका प्रकाश मल्ल नाम बताउने युवकले भारतबाट आफूहरुले कुखुरा तस्करी गरेर ल्याएको स्वीकार पनि गरे । उनले कुखुरा तस्करी गरेर ल्याउने गरेको बताएपछि स्थानीय कुखुरा व्यवसायीले उनीसहित तस्करीमा प्रयोग गरिएको मोटरसाइकल र कुखुरासहित उनलाई जिल्ला चलाउन गर्नुपर्ने माग गरे । तर, प्रहरीले मानेन ।

प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल चन्दले जिल्ला प्रहरी कार्यालयबाट चौकीमै कुखुरा नष्ट गर्न र मोटरसाइकल र तस्करीमा संलग्नलाई जिल्ला चलान गर्न आदेश दिएको भन्दै व्यवसायीको कुरै सुनेनन् । दुई घण्टासम्म पनि प्रहरी र व्यवसायीबीच चर्काचर्की भयो तर कुरा मिलेन । बरु प्रहरीले सोही ठाउँमा कुखुरा नष्ट गर्नका लागि मुचुल्का तयार गर्नै लाग्दा रोहबरमै नबस्ने गरि सबै कुखुरा व्यवसायीहरु त्यहाँबाट फर्किए । व्यवसायी फर्किएपनि प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा कुखुरा सोही ठाउँमै नष्ट गर्यो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नाउव उपरीक्षक प्रतीक विष्टले प्रक्रिया पुर्याएर कुखुरा जुगेडामै नष्ट गरिएको र तस्करीमा संलग्न व्यक्ति र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।

कुखुरा व्यवसायीहरुले भने क्वारेन्टाइनका प्रतिनिधि, कुखुरा व्यवसायी, पत्रकारलगायतको अनुपस्थितिमा प्रहरीले कुखुरा नष्ट गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले प्रहरीले सीमा क्षेत्रमा हुने कुखुरा तस्करी रोक्न गम्भीरता नदेखाएको आरोप लगाए । उनले प्रहरीनै तस्करसंग मिलेमतो गर्दा नेपाली कुखुरा व्यवसायी मारमा पर्ने गरेको बताए ।

संघका पूर्व अध्यक्ष तुलसी गौतमले प्रहरी तस्करको दुई/चार सय पैसामा बिक्ने हुँदा सीमाबाट भइरहेको कुखुरा तस्करी नरोकिएको आरोप लगाए । उनले प्रहरीले गर्ने तस्करी नियन्त्रणको काम स्थानीयले गर्दा पनि प्रहरीले साथ नदिएको बताए ।

‘लगाएको लगानी पनि कसरी उठाउने भन्ने अवस्था छ,’ स्थानीय कुखुरा व्यवसायी विजय राईले भने, ‘सस्तो मूल्यमा भारतबाट तस्करी हुने कुखुराले हामी डुब्ने अवस्थामा छौं ।’ उनले प्रहरीले कहिलेकाँही कुखुरा समात्ने गरेको भएपनि तस्कर पक्राउ नगर्दा तस्करी नरोकिएको बताए ।

अर्का कुखुरा व्यवसायी रिमा विष्ट थापाले स्थानीयले समातेको तस्करलाई पनि प्रहरीले भगाउने काम गरेर व्यवसाय धरापमा फाल्ने काम गरिरहेको आरोप लगाइन् । तस्करी नियन्त्रणमा प्रहरीले राम्रो भूमिका खेल्न नसकेको उनको भनाई छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्