लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो


 


काठमाडौं, माघ १
सङ्घीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ ।

कानुनी रूपमाबाहेक पार्टी विभाजित भएपछि असन्तुष्ट पक्षका सांसदले ‘लेभी’ रोक्का गरिदिन सचिवालयमा निवेदन नै दिएका थिए । सो निवेदनपछि सचिवालयले नेकपाका सबै सदस्यको लेभी रकमसमेत सांसदकै खातामा जम्मा गरिदिएको छ । यसअघि सचिवालयले समन्वय गरेर लेभीबापतको शुल्क पार्टीले तोकेको खातामा जम्मा गर्ने गरिएको थियो ।

दल विभाजनको सँघारमा पुगेपछि पार्टीमा असन्तुष्ट रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदले लेभी पार्टीको खाता जम्मा नगर्न सचिवालयको लेखा शाखामा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि सचिवालयले सबै सांसदकै लेभी तलबी खातामा नै पठाइदिएको हो ।

मङ्गलबार सदस्यहरूको पारिश्रमिक बैङ्कमा जम्मा गर्न पठाइएको छ । पुस महिनाको पारिश्रमिक जम्माका लागि पठाइएको हो । प्रतिनिधि सभा सदसस्यले भने विघटन भएको दिनसम्म (पाँच दिन)को मात्र पारिश्रमिक पाउने छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: १ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्