कर्णालीका सञ्चार माध्यमलाई एक लाख रुपैयाँ


 



सुर्खेत, माघ २८
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई एक लाख रुपैयाँ दिइने बताएका छन् । उनले प्रदेश सरकारले यसबारे निर्णयसमेत गरिसकेको बताए ।

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सञ्चार गृहलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।

‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख दिने निर्णय गरेका छौँ’, उनले भने, ‘शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ।’

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए ।

अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभइ अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए ।

महासङ्घ जिल्लाशाखाको २५औँ साधारणसभाबाट शान्ति तथा विकास पत्रकारिता, खानेपानी तथा सरसफाइ पत्रकारिता लगायतका विभिन्न विधागत पत्रकारिताबाट पत्रकारहरु भानुभक्त खड्का, डम्बर आचार्य, देवीराम देवकोटा, ललित बुढा, मानबहादुर ओली, खिम बुढा, मधुवन विसी, चाँदनी कठायत र गीता थापा पुरस्कृत तथा सम्मानित भएका थिए ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्