सेयर लगानी विवादमा मदिरा सेवन गराएर भिनाजुको हत्या

काठमाडौं, फागुन १
धनुषामा सयर लगानीमा विबाद हुँदा सालोले भिनाजुको हत्या गरेका छन् । जिल्लाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको उनकै सालोले हत्या गरेका हुन् ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्षीरेश्वरनाथ नगरपालिका ७ दुर्गा टोलका ३५ वर्षीय निरज खातीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रमाणको आधारमा आदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
डिस्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मी गत माघ १४ गते बिहान आफू सुत्ने कोठामा मृत फेला परेका थिए ।
प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नै श्रीमतीको सहोदर भाइले हत्या गरेको खुलेको रानाभाटले बताए ।
खातीले सेयर लगानीसम्बन्धी विषयमा रिसिबी राखी आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानमा खुलेको रानाभाटले बताए ।
रेग्मीको शव परीक्षण गर्दा टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको पोष्टमार्टम रिर्पोटबाट खुलेको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिस्टिलरी सञ्चालन गर्दै आएका थिए ।
प्रकाशित मिति: १ फाल्गुन २०७७, शनिबार












