मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्रीले पानी झरेको दृश्य हेर्ने


 



काठमाडौं, फागुन २२
उपत्यकाबासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आउन थालेको छ । विभिन्न अवरोधकाबीच आज भने पानी काठमाडौं ल्याइन लागेको छ ।

दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ । शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

‘उपत्यकावासीलाई खुसीको खबर छ । शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार राति नागरिकसँग भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले बताए ।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो । आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।

आयोजनाका कार्यकारी निर्देशक खत्रीका अनुसार शुक्रबार साँझसम्म मुहानस्थल हेलम्बु, अम्बाथानबाट सुरुङमार्गमा पठाएको पानीले १९ किलोमिटर पार गरिसकेको छ । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ। अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्रालो झर्छ । त्यसपछि एक किमि उकालो चढेर फेरि ओह्रालो हुँदै सुन्दरीजल पुग्छ ।

‘सबैभन्दा होचो सुरुङ अम्बाथान–सुन्दरीजलमा पानीको सतह १० मिटर जमेको छ,’ खत्रीले भने । शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ । सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले जनाए ।

उनका अनुसार सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो । तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ। त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्