ओलीको तयारी : नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा


 



काठमाडौं, चैत्र २२
कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट शुभारम्भ गर्दै ओलीले सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ ।

यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन् । 

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ ।

‘कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’ 

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ ।

‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो ।

प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्