गण्डकीमा राजनीतिक तरंग, नयाँ गठबन्धनको तयारी


 



काठमाडौं, वैशाख २
प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सत्तासमीकरणको कसरत गरिरहेका दलहरूले गण्डकी प्रदेशबाट नयाँ गठबन्धनको थालनी गर्ने भएका छन् । गण्डकी प्रदेशमा ओली समूहका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पाखा लगाउँदै कांग्रेस नेतृत्वमा पहिलो वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको छ । 

केन्द्रमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने औपचारिक निर्णय नै गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेशमा पनि वैकल्पिक सरकार गठनको पहल थालेको छ ।

गण्डकीमा नयाँ समीकरणले आकार ग्रहण गरे मुलुक संघीयतामा गएपछि कांग्रेस नेतृत्वको पहिलो प्रदेश सरकार बन्नेछ । 

गण्डकी प्रदेश सभामा तीनजना मात्रै सांसद भए पनि निर्णायक भूमिकामा रहेकोे राष्ट्रिय जनमोर्चा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न बुधबार तयार भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त गठबन्धन गर्दै अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव दर्ताका लागि कांग्रेस, माओवादी र जसपाले सहमति गरिसकेका छन् । 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ९पोखरेल०को नाम अघि सारेको छ । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ भएको भेटमा गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीबाट मुख्यमन्त्री बनाउने सहमति गरेका छन् । 

कांग्रेसले मुख्यमन्त्रीका रूपमा दलका नेता नेपालीलाई सर्वसम्मत रूपमा अघि सारेको सांसद विष्णु लामिछानेले बताए । ‘दलको नेता उहाँ नै हो, उहाँलाई अघि सार्न कुनै विवाद छैन,’ उनले भने, ‘जनमोर्चासमेत अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि अब एमालेबाहेक सबै एक ठाउँमा भएका छन् ।’ नवलपुर १ ९क०बाट निर्वाचित नेपाली वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

राष्ट्रिय जनमोर्चाले समेत अविश्वासको प्रस्तावको पक्षमा धारणा स्पष्ट गरेपछि नयाँ सरकार गठनका लागि संसदीय अंकगणित पुगेको कांग्रेस सांसद कुमार खड्काले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्