को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?


 


एजेन्सी, साउन ३२
भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।

कलेजका दिनहरुमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए । जहाँ उनले गीत गाए । र बाजा पनि बजाए । उनी ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए । उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए । साथै, अल्टोको कार पनि प्राप्त गरेका थिए । यसका साथै, उनले युनिभर्सल म्यूजिक ग्रुपसँग पनि पहिलो गीत रिलीज गर्ने कन्ट्र्याक्ट गरेका थिए ।

पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए । उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।

पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्