आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?


 


काठमाडौं, कार्तिक २८
कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए । यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह यी हुन्

— मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।

— मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।

— जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।

— फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।

— अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।

— अङ्ग प्रत्यारोपण गरेका ।

— उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।

— रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।

— मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।

यी हुन काठमाडौं उपत्यकामा खोप लगाइने ८ अस्पताल

– वीर अस्पताल

– त्रिवि शिक्षण अस्पताल

– निजामती सेवा अस्पताल

– सहिद गंगालाल हृदय केन्द्र

– भक्तपुर क्यान्सर अस्पताल

– पाटन अस्पताल

– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

– वीरेन्द्र सैनिक अस्पताल

यी हुन् उपत्यका बाहिरका खोप लगाइने अस्पताल

– मेची अस्पताल

– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

– जनकपुर अस्पताल

– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

– गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान

– लुम्बिनी प्रादेशिक अस्पताल

– भेरी अस्पताल

– डडेलधुरा अस्पताल

– कोशी अस्पताल

– गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान

– नारायणी अस्पताल

– धुलिखेल अस्पताल

– धवलागिरि अस्पताल

– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

– कर्णाली प्रादेशिक अस्पताल

– सेती अस्पताल

फाइजर खोप लगाएपछि देखिन सक्ने सामान्य असर

– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने

– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने

– मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने

– खान मन नलाग्ने र वाकवाकी लाग्ने

– थकाई लाग्ने

– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने

यी समस्या भएमा नआत्तिन चिकित्सकको सुझाव छ । यस्ता समस्या भएमा २–३ दिन पछि आफै ठिक हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । फाइजर खोप लगाएपछि अपवादमा अवाञ्छित घटना पनि हुन सक्छ । जस्तै, एनाफाइलेक्सिस्, मायोकार्डाइसी, पेरीकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरु देखिन सक्छन् । बान्ता हुने, सुई लगाएको हात धेरै नै दुख्ने तथा बेहोस हुनेजस्ता लक्षणहरु देखिन पनि सक्ने शाखा प्रमुख दाहालको भनाइ छ ।

खोप लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य रुपमा बस्नुपर्ने उनले बताए । खोप दिइसकेपछि एनाफाइलेक्सिस् प्रतिक्रियाको निगरानीसमेत गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्