ओमीक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षित बढ्दो


 


महोत्तरी, मंसिर १९
कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् ।

खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन् ।

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन । तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो ।

कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएका छैठौं खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।

‘खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जान नै पाइएन । अहिले फेरि यहीँ कोरोनाको नयाँ भेरियन्ट आएको छ रे ? अब जसरी पनि लगाउँछु,’ महोत्तरी जलेश्वरका राम नरेशले भने ।

राम नरेश जस्तै यो पटक खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास-३ का कृष्ण खत्रीको योजना छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको चर्चा र केही देशले लकडाउन नै गरेपछि खत्रीले अहिले डर लागिरहेको बताए ।

कोरोना भाइरसको नियन्त्रण र यसबाट बच्नका लागि खोप लगाउनुपर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतनाको अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्विकार्न सकेका छैनन् ।

खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाई टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै दुविधामा छन् ।

महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणको चासो र सहभागिता न्यून देखिएता पनि ओमीक्रोन भाइरस चर्चा हुन थालेपछि खोपको विषयमा आफै चासो देखाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कूल जनसंख्याको झण्डै ५२ प्रतिशत हुन आउँछ । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख बनिरहेका छन् ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्