पल शाह प्रकरण : व्यक्तिगत विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न आग्रह


 


काठमाडौँ, फागुन १५
नेपाल चलचित्र कलाकार संघले अभिनेता पल शाहको विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न आग्रह गरेको छ ।

हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको हो । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक भएको संछले जनाएको छ ।

व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक–फरक पाटो भएको भन्दै व्यक्तिको निजी विषयलाई लिएर पेशा र व्यवसाययलाई आक्षेप लगाउन नहुने संघले आग्रह गरेको हो ।

केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकायमार्फत निक्र्यौल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिन्छ । त्यसैले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लान्छना लगाई वादबिवाद सिर्जना गर्नु तथा एक आपसमा लान्छना लगाउनु दुःखद रहेको हाम्रो ठहर छ ।”

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्