१२ दिनमै दुई पटक इन्धनको मूल्यवृद्धि : पेट्रोलको मूल्य १५० पुग्यो



काठमाडौँ, फागुन २०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

त्यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

यसअघि निगमले फागुन ७ गते रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको थियो । मूल्यबृद्धिसँगै पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ तथा डिजल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News