स्वस्थ वृद्धावस्थाका लागि योग आवश्यक : मुख्यसचिव अर्याल



काठमाडौँ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय भइसकेको बताएका छन् । उनले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यसम्बन्धी पाठ्यक्रम तर्जुमा गरी पठनपाठन सुरु भइसकेको जानकारी दिए ।

योगको व्यापक प्रचारप्रसार भए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकिएको उल्लेख गर्दै मुख्यसचिव अर्यालले अब योगको महत्वबारे जनचेतना विस्तार गर्न आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव चूडामणि पौडेलले स्वस्थ र निरोगी जीवनका लागि नियमित योगाभ्यास आवश्यक रहेको बताए । मानसिक स्वास्थ्य सुदृढ गर्दै समाज र राष्ट्रलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

जीवन विज्ञान नेपालका एलपी भानु शर्माले योगलाई शारीरिक, मानसिक र आध्यात्मिक दुःख निवारणका साथै समृद्धिको माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । उनले नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले आरोग्य दिवस घोषणा गरेको जानकारीसमेत दिए ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि योग दिवस मनाउन प्रारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा योगासनका साथै योगको महत्वबारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्