नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि चुनावमा बालेनलाई भोट दिए : राजेन्द्र लिङ्देन



चितवन, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताबाट प्राप्त जनमतको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले निषेधको राजनीतिभन्दा नयाँ ढङ्गले राजनीतिक यात्रा अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, “फेरि निषेधको बाटो रोजियो भने पुरानै ठाउँमा पुगिन्छ। त्यसैले राजनीतिलाई नयाँ तरिकाले अघि बढाउन आग्रह गर्दछु। राप्रपा तपाईंहरूको शुभेच्छुक भएर साथ दिन्छ, तर गलत काममा खबरदारी पनि गर्छ।”

अध्यक्ष लिङ्देनले बालेन्द्र शाह को निर्वाचन प्रसङ्ग उल्लेख गर्दै विभिन्न विचारधाराका मतदाताले उनलाई समर्थन गरेको बताए।

उनले भने, “नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि चुनावमा बालेनलाई भोट दिएका छन्। तर उनीहरूले ‘बालेनले राजा ल्याउँछन्’ भनेर भोट दिएका हुन्।”

रास्वपाले छोटो अवधिमा ठूलो जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले जनताको विश्वासलाई परिणाममुखी काममार्फत कायम राख्नुपर्ने बताए।

उनले राजनीतिक दलहरूले एकअर्कालाई निषेध गर्नेभन्दा लोकतान्त्रिक प्रतिस्पर्धा, सहकार्य र जिम्मेवार राजनीतिक संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्