रास्वपा महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक



काठमाडौँ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिएको हो । निर्वाचन उपप्रमुख राम गुरुङका अनुसार पछिल्लो विवरणअनुसार चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।

उक्त नामावलीमाथि सोमबार बिहानसम्म दाबी विरोध गर्न सकिने व्यवस्था गरिएको छ । सार्वजनिक सूचीअनुसार कोशी प्रदेशबाट ३१३, गण्डकीबाट ४७७, बागमतीबाट ७४४, सुदूरपश्चिमबाट ५५०, कर्णालीबाट ३४३, लुम्बिनीबाट ६३६ र प्रवासी क्षेत्रबाट १६३ जना प्रतिनिधि रहेका छन् । मधेश प्रदेशबाट आएका प्रतिनिधिको नाम भने सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।

निर्वाचन कार्यालयले सोमबार बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

कार्यतालिकाअनुसार सोमबार दिउँसो १ बजेदेखि पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन फाराम वितरण सुरु हुनेछ । दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

सोमबार साँझ ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उम्मेदवारविरुद्ध दाबी विरोधका लागि एक घण्टाको समय दिइनेछ भने साँझ ७ बजेदेखि ९ बजेसम्म दाबीमाथि जाँचबुझ गरिनेछ । राति ९ः१५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

सोमबार राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मंगलबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म मौन अवधि रहनेछ । त्यसपछि बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने पदाधिकारी निर्वाचनका लागि दोस्रो चरणको कार्यतालिका पछि सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्