राजनीतिक वैमनस्य त्यागेर विकासका लागि सहकार्य आवश्यक छ : सभापति लामिछाने
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलहरूबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर देश निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले नयाँ पुस्ताका राजनीतिज्ञहरूले फराकिलो सोचका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै भने, “हामीलाई अब आपसमा प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट छैन । हाम्रा व्यक्तिगत वैमनस्यताहरू निजी स्वार्थ हुन्, ती यहीँ र अहिले नै सकिनुपर्छ ।”
सभापति लामिछानेले एकअर्कालाई आलोचना गरेर समय बिताउनेभन्दा इतिहासलाई जवाफ दिने गरी सहकार्यको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । रास्वपा बाहिरी शक्तिका कारण नभई आफ्नै आन्तरिक कमजोरीका कारण मात्र कमजोर हुन सक्ने उनको भनाइ थियो ।
रास्वपाको नेतृत्वमा देश सुरक्षित रहेको विश्वास व्यक्त गर्दै सभापति लामिछानेले लोकतन्त्र, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण, नागरिक अधिकार र समावेशी व्यवस्थाको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताए ।
सरकार सञ्चालनका विषयमा बोल्दै उनले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सँगको समझदारीमा कुनै समस्या आउन नदिने बताए ।
खेलको उदाहरण दिँदै उनले भने, “सरकार सञ्चालन गर्न चुनाव अगाडि नै वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने मुख्य जिम्मेवारी बालेनजीको हो । यदि झुक्किएर त्यो बल मतिर आयो भने पनि पुनः उहाँकै खुट्टामा पास गर्ने जिम्मेवारी मेरो भयो ।”
सभापति लामिछानेले देशका ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरे । ठूला दलभित्रको अस्थिरताले मुलुकमै असर पार्न सक्ने उल्लेख गर्दै उनले दलहरू बलियो र व्यवस्थित भए मात्र देशले सही दिशा लिन सक्ने बताए ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












