कोशीसहित चार प्रदेशमा वर्षा, केही क्षेत्रमा तातो लहरको सम्भावना



काठमाडौँ, ७ असार । जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागले भोलि सोमबार र पर्सी मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ। भोलि मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा पर्सी मधेश प्रदेशका केही स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

यस्तै, भोलि र पर्सी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई भूभागका केही स्थानमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको विभागले जनाएको छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेश का तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।

विभागले सम्भावित वर्षा र तातो मौसमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्