वनस्पति घ्यु तेल उत्पादक संघले भन्योः हल्लाको भरमा दैनिक उपभोग्य सामग्री भण्डारण नगर्नू


 


काठमाडौँ, फागुन २८
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले खानेतेलको कृतिम रुपमा मूल्य वृद्धि नगर्न आग्रह गरेको छ । संघले उद्योगहरूलाई आपूर्ति व्यवस्था सुचारु राख्नलाई अनुरोध गरेको छ । उपभोक्ताहरूलाई हल्ला र भयको भरमा कृतिम अभाव सिर्जना हुने गरी भण्डारण नगर्नसमेत गरेको छ ।

रसिया र युक्रेन बीचको युद्धले भएको संकट लामो समयसम्म नरहने र एकदिन अन्त्य हुने विश्‍वास लिएको छ । उद्योगहरूसँग कच्चा तेलको मौज्दात भएसम्म आपूर्तिमा कुनै पनि कमी हुन नदिने संघले प्रतिबद्धतासमेत जनाएको छ ।

खाने तेलमा भन्सार महसुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएको साथै कच्चा पदार्थको मुल्यमा भएको दोब्बर भन्दा बढि वृद्धिका कारण गत वर्षमा महसुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ६५ प्रति लि. भन्दा वढी पुगिसकेको छ । संघले सरकारसँग भन्सार महसुल र मु.अ.करमा पुर्नविचार गरिदिन अनुरोध गरेको छ ।

नेपालमा कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकबाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थको मुल्यमा हुने उतारचढाव अनुसार नै स्थानिय वजारको मुल्य निर्धारण गर्ने प्रक्रिया यहाँका उद्योगहरुको वाध्यता रहेको प्रस्ट पारेको छ ।

नेपालका उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल,क्रुड सनफ्लावर तेल,क्रुड पाम आयल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरूबाट आयात हुने गरेको छ । सबैभन्दा धेरै क्रुड सनफ्लावर तेल ९५ देखी शत प्रतिशतसम्म तोरीको गेडा ६० देखी ८० प्रतिशतसम्म युक्रेनबाट मात्र आयात हुने गरेको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्