रास्वपाको महाधिवेशनले स्पष्ट राजनीतिक नीति र कार्यदिशा तय गर्नुपर्छ : प्रदीप ज्ञवाली



चितवन, ७ असार । नेकपा (एमाले)का नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले पार्टीको स्पष्ट राजनीतिक नीति र वैचारिक कार्यदिशा तय गर्नुपर्ने बताएका छन्।

चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै रास्वपाले राष्ट्रिय राजनीतिमा आफ्नो वैचारिक आधार र राजनीतिक मार्गचित्र स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “महाधिवेशन केवल नेतृत्व चयन गर्ने थलो मात्र होइन, यसले पार्टीको राजनीतिक नीति र कार्यदिशा तय गर्छ। रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ र यसको वैचारिक धरातल कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर यस महाधिवेशनले दिन सक्नुपर्छ।”

नेता ज्ञवालीले कुनै पनि राजनीतिक दलको दीर्घकालीन सफलताका लागि स्पष्ट विचार, नीति र कार्यदिशा अपरिहार्य हुने उल्लेख गर्दै महाधिवेशनले त्यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

रास्वपाको पहिलो महाधिवेशन नेपाली राजनीतिमा एउटा उदाहरणीय मानक (बेन्चमार्क) का रूपमा स्थापित हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उनले महाधिवेशनको पूर्ण सफलताको कामना गरे।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्