सत्य र न्यायको पक्षमा दृढ रहन रास्वपालाई बाबुराम भट्टराईको सुझाव
चितवन, ७ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सधैँ सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलतालाई नेपाली इतिहासको नयाँ क्रान्तिको एउटा कडीका रूपमा आफूले लिएको बताए।
पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा सुशासन र समृद्धि स्थापनाका लागि रास्वपाले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। रास्वपाको उदय र सफलताबारे आफ्नो पुस्ताका कतिपय स्थापित नेताहरूले भ्रमपूर्ण धारणा राख्ने गरे पनि आफूले यसलाई नेपाली जनताको चाहना र नयाँ चेतनाको परिणामका रूपमा बुझेको बताए।
“रास्वपाले स्थापनाको चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, परम्परागत आन्दोलन र सङ्घर्षभन्दा पनि जनताको मन जितेर तथा आधुनिक प्रविधिमार्फत विचार सम्प्रेषण गर्दै प्राप्त गरेको यो सफलता नेपाली इतिहासको नयाँ क्रान्तिको एउटा कडी हो,” उनले बताए।
आफ्नो पुस्ताका नेताहरूप्रति सङ्केत गर्दै उनले केहीले रास्वपाको सफलतालाई बाह्य शक्तिसँग जोडेर व्याख्या गर्ने गरेको उल्लेख गरे। “दक्षिणले गरायो, उत्तरले गरायो वा पश्चिमले गरायो भन्ने काल्पनिक कथाहरू बुनिन्छन्। तर मेरो स्पष्ट धारणा के छ भने, बाहिरी हल्लाको पछि नलागी सत्य र न्यायको पक्षमा दृढ रहनुपर्छ,” उनले बताए।
वैकल्पिक राजनीतिको पक्षमा आफूले लामो समयदेखि पैरवी गर्दै आएको स्मरण गराउँदै उनले रास्वपाको वर्तमान अवस्थालाई त्यही अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको बताए।
महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले आगामी दिनमा सुशासन र समृद्धिको वास्तविक प्रतिफल सम्पूर्ण नेपाली नागरिकले प्राप्त गर्ने वातावरण निर्माणमा रास्वपाले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












