पोखरीमा डुबेर बारामा दुई बालिकाको मृत्यु



वीरगञ्ज, ७ असार । बारामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–६ निवासी विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र स्थानीय सञ्जय मण्डलकी ५ वर्षीया छोरी अञ्जली कुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो।

शनिबार अपराह्न घरनजिकैको पोखरीमा नुहाउने क्रममा दुवै बालिका डुबेका थिए। घटनापछि अभिभावकले तत्काल उद्धार गरी बेहोस अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए।

अस्पतालले उपचारका क्रममा दुवै बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकहरूको शव परीक्षण (पोष्टमार्टम) पछि परिवारलाई बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्