अपूर्वक्षितिजविरुद्ध पाँच वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा, थुनछेक बहस आज


 


काठमाडौं, कार्तिक ३
कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चारवटा मुद्दा दायर भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अपराध संहिता २०७४ का दफा ६५, १६५, १६६ र १६८ अनुसार कसुर गरेको जिकिर गरिएको छ । चारवटा शीर्षकमा मुद्दा दर्ता भएको र बिहीबार थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

न्यायिक हिरासतमा रहेका सिंहलाई पुर्पक्षको बहसका लागि आजै पेस गरिने छ । उक्त बसहपछि अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ ।

नेवाः अभियन्ताहरूले उनीविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिए अनुसार मुद्दा दायर भएको हो । अभियोगपत्रमा अपूर्वले दफा १६६ को उपदफा १ बमोजिम जातीय भेदभाव गरेको भन्दै त्यसैको उपदफा २ बमोजिम ३ वर्षसम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै मागदाबी गरिएको छ  । अपमानजनक वा अमानवीय व्यवहार गरेको अभियोगमा दफा १६८ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना दाबी गरिएको छ ।

यस्तै अपूर्वले सामाजिक रीतिथितिमा खलल पुर्‍याएर दफा १६५ को उपदफा १ बमोजिमको कसुर गरेको जिकिर गर्दै सोही दफाको उपदफा २ बमोजिम १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालयले गरेको छ ।

उनीविरुद्ध दायर अर्को मुद्दामा संहिताको दफा ६५ को उपदफा १ बमोजिम सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै त्यसैको उपदफा २ बमोजिम १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्